आफ्नै छोरीसँग सुतिरहेका श्रीमान माथि चक्कु प्रहार, श्रीमती र जिम प्रशिक्षक पक्राउ

 

भारतको गाजियाबादमा पारिवारिक सम्बन्धलाई समेत स्तब्ध पार्ने घटना सार्वजनिक भएको छ। आफ्नै घरमा सानी छोरीसँग सुतिरहेका ३५ वर्षीय दिल्ली सरकारी कर्मचारी शशांक कान्थारियामाथि चक्कु प्रहार गरी हत्या प्रयास गरिएको घटनामा प्रहरीले उनकी श्रीमती र जिम प्रशिक्षकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार शशांककी श्रीमती प्रिया र जिम प्रशिक्षक प्रताप सिंहबीच प्रेम सम्बन्ध रहेको आशंका गरिएको छ। उक्त सम्बन्धबारे शशांकले थाहा पाएपछि उनीहरूबीच विवाद बढेको अनुसन्धानबाट खुलेको बताइएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अक्टोबर २६ को बिहान प्रिया जिम जान भन्दै घरबाट बाहिरिएकी थिइन् र घरको ढोका खुला छोडेको र त्यसपछि जिम प्रशिक्षक प्रताप घरभित्र प्रवेश गरी सुतिरहेका शशांकमाथि चक्कु प्रहार गरेको आरोप छ। आक्रमण भइरहँदा उनकी सानी छोरी पनि छेउमै सुतिरहेकी थिइन्।

बुबामाथि आक्रमण भएपछि छोरी ब्युँझिएर रुन थालेकी थिइन्। शशांकको चिच्याहट सुनेपछि छिमेकीहरू घटनास्थलमा पुगेका थिए।  भाग्न खोजिरहेका आरोपित प्रतापलाई स्थानीय र सुरक्षागार्डको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ।

घटनापछि प्रहरीले श्रीमती प्रिया र जिम प्रशिक्षक प्रताप सिंह दुवैलाई पक्राउ गरेको छ। घाइते शशांकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आफ्नै घरभित्र, आफ्नै सानी छोरीको छेउमा सुतिरहेका श्रीमान्माथि भएको यो आक्रमणले भारतमा ठूलो चर्चा पाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments