दक्षिण कोरियामा कार्यरत एक प्रहरी अधिकारी नै एआई प्रविधिको दुरुपयोग गरी यौन प्रकृतिका नक्कली डीपफेक सामग्री बनाउने र वितरण गर्ने घटनामा पक्राउ परेका छन्।
बुसान अभियोजन पक्षका अनुसार सियोलको दोङदेमुन प्रहरी कार्यालयमा कार्यरत ती अधिकारीले सन् २०२२ मार्चदेखि २०२६ अगस्टसम्म परिचित व्यक्तिहरूका तस्बिर प्रयोग गरी करिब ४ सयभन्दा बढी यौन प्रकृतिका नक्कली डीपफेक सामग्री बनाएको आरोप लागेको छ। तीमध्ये करिब ५० वटा अरू व्यक्तिलाई पठाएको वा वितरण गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनको मोबाइल फोन तथा अन्य उपकरण जाँच गर्दा करिब ५ हजार ६ सय अवैध फाइल फेला पारेको जनाएको छ। अनुसन्धानका क्रममा बालबालिकासँग सम्बन्धित यौन शोषण सामग्री र गोप्य रूपमा खिचिएका भिडियोसमेत भेटिएको अभियोजन पक्षले जनाएको छ।
यो घटना टेलिग्राममा नक्कली यौन सामग्री वितरण गर्ने समूहबारे बुसान प्रहरीले गरेको गोप्य अनुसन्धानका क्रममा बाहिर आएको हो। अनुसन्धानकर्ताहरूले लामो समयसम्म समूहभित्र गोप्य रूपमा अनुसन्धान गरेपछि सामग्री वितरण गर्ने व्यक्तिको पहिचान गरेका थिए। पछि ती व्यक्ति सियोलमा कार्यरत प्रहरी अधिकारी रहेको खुलेको हो।
रिपोर्टअनुसार ती अधिकारी प्रहरी सेवामा प्रवेश गर्नुअघि पनि यस्तै प्रकृतिको घटनामा अनुसन्धानमा परेका थिए। अहिले उनलाई पक्राउ गरी मुद्दा अघि बढाइएको छ भने सियोलको दोङदेमुन प्रहरी कार्यालयले उनलाई जिम्मेवारीबाट हटाएको जनाएको छ।
दक्षिण कोरियामा पछिल्लो समय एआई प्रयोग गरेर बनाइने यौन डीपफेक अपराधलाई गम्भीर रूपमा लिइएको छ। कोरियाली प्रहरीले सन् २०२६ को जनवरीदेखि जुलाईसम्म मात्रै डीपफेकसम्बन्धी अपराधमा ४१९ जनालाई पक्राउ गरेको जनाएको छ।
नोट: पीडितको पहिचान र यौन प्रकृतिका सामग्री सार्वजनिक गरिएको छैन।

Comments
Post a Comment