दुबईबाट इजरायलको तेल अभिवतर्फ उडेको Flydubai को विमानमा उडानकै क्रममा दुई पाइलटबीच गम्भीर विवाद भएपछि विमानलाई साउदी अरबतर्फ मोडेर आपत्कालीन अवतरण गराइएको रिपोर्ट सार्वजनिक भएको छ।
रिपोर्टअनुसार विमानले सुरुमा 7700 आपत्कालीन संकेत र त्यसपछि 7500 कोड प्रसारण गरेको थियो। 7500 कोड सामान्यतया विमान अपहरण वा गैरकानुनी हस्तक्षेपको संकेतका रूपमा प्रयोग गरिन्छ। घटनापछि विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो।
घटनाका क्रममा विमान केही समयमै करिब १७ हजार फिटभन्दा बढी तल झरेको फ्लाइट ट्रयाकिङ तथ्यांक उद्धृत गर्दै रिपोर्टहरूमा उल्लेख गरिएको छ। विमानमा रहेका यात्रु तथा चालक दलका सदस्यहरू सुरक्षित रहेको बताइएको छ।
घटनाको कारणबारे भने विभिन्न विवरण सार्वजनिक भएका छन्। इजरायली अधिकारीहरूका अनुसार दुई पाइलटबीच शारीरिक झगडा भएको हुनसक्ने र एक पाइलटमाथि चक्कु प्रहार भएको हुनसक्ने विषयमा समेत अनुसन्धान भइरहेको छ। प्रारम्भमा विमान अपहरणको आशंका गरिए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ।

Comments
Post a Comment