Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

Advertisement


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि सरकारले आवश्यक स्रोतसाधनको कुनै कमी हुन नदिने प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै शाहले सरकारसँग उपलब्ध स्रोतसाधनसँगै दातृ निकायबाट प्राप्त सहयोगलाई समेत पुनःस्थापनामा प्रभावकारी रूपमा प्रयोग गर्ने तयारी भइरहेको बताए।

छलफलका क्रममा बाढीपछि संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भएर उद्धार तथा राहतको काम अघि बढेको विषयमा प्रधानमन्त्री शाहले खुसी व्यक्त गरे। उनले भने, “संघ, प्रदेश र स्थानीय तहबीच समन्वय हुँदैन भन्ने सुन्दै आएका थियौँ, तर यस विपद्मा हामी एकै ठाउँमा उभियौँ, मिलेर काम गर्‍यौँ।”

सरकारको प्राथमिकता अहिले प्रभावित क्षेत्रमा सडक सञ्जाललाई सकेसम्म छिटो पुनः सञ्चालनमा ल्याउने रहेको शाहले बताए। सडक खुलेसँगै प्रभावित नागरिकलाई सामान्य जनजीवनमा फर्किन सहज हुने उनको विश्वास छ।

त्यसैगरी, बाढीको उच्च जोखिममा रहेका नदी तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन कठिन हुने निष्कर्षसमेत प्रधानमन्त्री शाहले सुनाए। प्रभावित नागरिकलाई नजिकैको तर सुरक्षित स्थानमा व्यवस्थित रूपमा पुनःस्थापना गर्ने तयारी सरकारले थालेको उनले जानकारी दिए।

नयाँ बस्ती बसाउँदा केवल घर निर्माण गर्ने विषयलाई मात्र नभई रोजगारी, शिक्षा, स्वास्थ्य, संस्कृति र खेतीयोग्य जमिनको संरक्षणलाई समेत प्राथमिकतामा राखिने शाहको भनाइ छ। उनले स्थानीय जनप्रतिनिधिहरुलाई सुरक्षित स्थान पहिचान गरी संघ सरकारलाई सिफारिस गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले आजको छलफलले रसुवा बाढीबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न र आगामी पुनःस्थापनाको योजना बनाउन महत्वपूर्ण सहयोग पुगेको बताए।

No comments:

Post a Comment

Bottom Ad [Post Page]

Advertisement